पर्सा । वीरगञ्ज महानगरले चालु आर्थिक वर्ष २०८२र८३ का लागि विनियोजन गरेको बजेटबाट ३० करोड रुपैयाँ पुनःनिर्माणमा खर्च गर्ने भएको छ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा क्षति भएका संरचनाको पुनर्निर्माणका लागि महानगरले ३० करोड रुपैयाँ खर्च गर्ने भएको हो ।
आज आयोजना गरेको नगरसभाको २८औँ विशेष अधिवेशनले पुनःनिर्माणसम्बन्धी प्रस्तावलाई सर्वसम्मत पारित गरेको जनाएको छ। जेनजी समूहले प्रदर्शनका क्रममा यहाँका भवन र सवारीसाधन तोडफोड र लुटपाट भएको थियो।
वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले महानगरको संशोधित बजेट पेस गर्दै बजेटका प्राथमिकतासमेत परिवर्तन गर्नुपरेको बताए। महानगरको १७औँ नगरपरिषद्ले यसअघि आव २०८२र८३ का लागि रु तीन अर्ब २२ करोड ४८ लाख ४९ हजारको बजेट विनियोजन गरेको थियो ।
विशेष अधिवेशनले बजेटमा भएका नगरस्तरीय पुँजीगत योजना, सामाजिक विकास कार्यक्रम तथा वडास्तरका योजनामा विनियोजन गरिएको रकमलाई पुनःनिर्माणतर्फ स्थानान्तरण गर्ने निर्णय गरेको छ। संशोधनपश्चात् करिब रु ३० करोड पुनःनिर्माणका लागि उपलब्ध हुने भएको छ ।
संशोधित बजेटले प्रशासनिक भवन निर्माण, सवारीसाधन खरिद, मेसिनरी उपकरण, ल्यापटप, कम्प्युटर, प्रिन्टर तथा फर्निचर खरिद, कार्यालय भवन मर्मत, गाडी भाडा, बिजुली बत्ती र अन्य आवश्यक सामग्री खरिदमा खर्च गर्ने प्रावधान गरेको छ ।