हेटौंडा । भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनले बागमती प्रदेशका धेरै मन्त्रालयको प्रशासनिक कार्य सञ्चालनमा ठुलो अवरोध सिर्जना गरेको थियो। आन्दोलनका क्रममा सरकारी भवनहरूमा भएको तोडफोड र क्षतिपछि धेरै मन्त्रालयहरूले लामो समय अस्थायी रूपमा काम गर्नुप¥यो । तर अहिले ती मन्त्रालयहरू क्रमशः नयाँ भवनमा सर्दै, पुनः स्थायित्वको बाटोमा अघि बढेका छन् ।

हेटौंडाको विभिन्न स्थानमा सरेका मन्त्रालयहरूले सेवा प्रवाह सुरु गरिसकेका छन् । नयाँ स्थानमा कार्यालय व्यवस्थापन भएसँगै कर्मचारीहरूलाई काम गर्न सहज भएको छ भने सेवाग्राहीहरू पनि समयमै, व्यवस्थित सेवा पाउन थालेका छन् ।
हेटौंडा बजारस्थित भुटानदेवी माध्यमिक विद्यालयको नयाँ भवनमा हाल स्वास्थ्य, सामाजिक विकास, यातायात तथा खानेपानी मन्त्रालय सरेका छन् । चारवटा मन्त्रालय एउटै भवनमा सञ्चालनमा आएसँगै नागरिकले एकै स्थानबाट विभिन्न सेवा लिन पाएका छन् ।
सेवाग्राहीहरूका अनुसार नयाँ स्थानमा सेवा सहज, छिटो र प्रभावकारी भएको छ । एक सेवाग्राहीको भनाइ छ, ‘अघिल्लो अस्थायी ठाउँमा धेरै झन्झट थियो। अहिले भवन राम्रो छ, लाइन पनि व्यवस्थित छ, कर्मचारीहरू पनि समयमै सेवा दिनुहुन्छ ।’
यही भवनमा मन्त्रालयका काउन्टरहरू संचालनमा छन्, जहाँ कर्मचारीहरू सक्रिय छन् र सेवाग्राहीहरू पंक्तिबद्ध रूपमा सेवा लिइरहेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय भवन, हेटौंडा–२ मा अब सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग मन्त्रालय पनि सरेका छन् । नयाँ भवनमा प्रशस्त पार्किङ, स्वच्छ परिसर, खुला बैठक कक्ष जस्ता पूर्वाधारले काम गर्न सहजता दिएको कर्मचारीहरूले बताएका छन् ।
एक अधिकारीका अनुसार, ‘पछिल्लो केही महिनामा कार्यालय व्यवस्थापन निकै अस्तव्यस्त थियो। अहिले वातावरण परिवर्तन भएपछि कामको गति बढेको छ ।’
भौतिक पूर्वाधार विकास मन्त्रालय भने हेटौंडा स्थित सिडिओ कार्यालय नजिकैको नयाँ भवनमा सरेको छ । मन्त्रालयका अनुसार नयाँ स्थानमा सरेपछि योजना कार्यान्वयनमा सुधार आएको छ । फाइल व्यवस्थापनदेखि सार्वजनिक सेवासम्मका कार्यहरू अब सुसंगठित रूपमा अघि बढिरहेका छन् ।
एक कर्मचारीको भनाइ छ, ‘अहिले हामीले सहज वातावरणमा काम गर्न पाएका छौं । फाइल–व्यवस्था र सेवा प्रवाह दुवै सुधारिएको छ ।’