काठमाडौं। जुम्लाको तिला गाउँपालिकाले आफ्नै वडा कार्यालय भवन निर्माण थालेको छ। पालिकाले वडा कार्यालय भवन तीन वटा ब्लकमा निर्माण गर्ने भएको छ। मुख्य कार्यालय रहने (क) ब्लक भवन निर्माण गर्न ३ करोड ७५ लाख २४ हजार १५३ रुपैयाँ, (ख) ब्लक भवन निर्माण गर्न १ करोड १६ लाख ३३ हजार १५ रुपैयाँ र (ग) ब्लक भवन निर्माणका लागि ४२ लाख ४५ हजार ९६८ रुपैयाँ बजेट बिनियोजन भएको छ। (ख) र (ग) ब्लकका भवन सटर भाडामा दिएर गाउँपालिकाको आम्दानी लिने गरी भवनको संरचना निर्माण गरिएको गाउँपालिका अध्यक्षले जानकारी दिएका छन्। यसैगरी पालिका भवन निर्माण गर्नका लागि प्रदेश र संघीय सरकारले पनि आर्थिक सहयोग गरेको उनले जानकारी दिएका छन्।

गाउँपालिका भवन निर्माण गर्न स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका हुन्। यसैगरी सिंजा गाउँपालिकाले ६ करोड रुपैयाँको बजेटमा आफ्नो कार्यालय भवन निर्माण गर्न थालेको छ। गाउँपालिकाले वडा नम्बर ३ को नराकोटमा कार्यालय भवन निर्माण गर्न थालेको हो। सिंजाबासीले गाउँपालिका भवन निर्माण गर्न निःशुल्क जग्गा उपलब्ध गराएपछि पालिकाले भवन निर्माण थालेको हो। उक्त भवन निर्माण गर्नको लागि १ करोड ४० लाख रुपैयाँमा बजेट बिनियोजन भएको गाउँपालिकाका अध्यक्ष्यले जानकारी दिएका छन्। उक्त बजेटले एक तले १४ कोठे भवनको फाउन्डेसन र बाउन्ड्री पर्खाल, गेट निर्माण भइरहेको छ।
संघीय र प्रदेश सरकारसँग बजेटको पहल गरिए पनि हालसम्म टुंगो लाग्न सकेको छैन्। गाउँपालिका आफैंले मात्र ६ करोड रुपैयाँ बजेट विनियोजन गरी भवन निर्माण गर्न सक्ने अवस्था नरहेको अध्यक्षले जनाएका छन्। यस विषयमा संघीय सरकार र प्रदेश सरकारसँग गुहार मागेको तर सुनुवाइ नभएको उनको भनाइ छ।
जिल्लाको चन्दननाथ नगरपालिका र गुठीचौर गाउँपालिकाबाहेक त्यहाँका सात गाउँपालिका हालसम्म पनि भाडाकै घरमा कार्यालय सञ्चालन गरेर बसिरहेका छन्। सिंजा, तातोपानी र तिला गाउँपालिकाले पालिकाको केन्द्र टुंगो लगाई सकेका छन्। हिमा, कनकासुन्दरी, पातारासी गाउँपालिकाले अहिलेसम्म पालिकाको केन्द्रसमेत टुंगो लगाउन सकेका छैनन्।