ललितपुर । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा क्षति पु¥याइएको प्रहरी प्रभाग बुङ्गमती (भैँसेपाटी)को भवन पुनःनिर्माण गरी हस्तान्तरण गरिएको छ ।
स्थानीय र समुदायको सहकार्यमा भदौ २६ गते स्थानीय सुमन महतको संयोजकत्वमा गठन भएको पुनःनिर्माण समितिले निर्माण सम्पन्न गरी आज यहाँ औपचारिक कार्यक्रम गरेर प्रहरीलाई भवनका संरचना हस्तान्तरण गरेको हो ।
पुनःनिर्माण समिति संयोजक महतका अनुसार भदौ २६ गते गठन भएको ११ सदस्य रहेको पुनःनिर्माण समितिले २०० स्थानीय, व्यवसायी, सङ्घसंस्था र समाजसेवीबाट स्वस्फूर्तरूपमा उपलब्ध रु ४९ लाख ५४ हजार ६८ को सहयोगबाट पुनःनिर्माण सम्पन्न गरिएको हो ।
पुनःनिर्माण सम्पन्न भएको भवनको समुद्घाटन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले राम्रा र असल मानिसको मौनताले खराब मानिसले प्रसय पाउने बताए। उनले शान्ति सुरक्षाका लागि राष्ट्रको प्रतिनिधिका रूपमा काम गर्न प्रभागको भवन पुनःनिर्माण गरी सहयोग पुर्याउने स्थानीयको प्रयासको प्रशंसा गरे ।
“अप्ठ्यारो परिस्थितिमा काम गर्ने शक्ति नेपाल प्रहरी हो, आन्दोलनमा धेरै क्षति भएको थियो र छ, देशमा धेरै रगत बगिसकेको छ, अब रगतभन्दा पनि मेहनतको पसिना बगाउनुपर्ने समय हो, यसतर्क हामी सबै मिलेर सहकार्यमा काम गर्नु आवश्यक छ”, उनले भने। उनले सार्वजनिक सम्पत्तिको क्षति साह्रै दुःखद् भएको उल्लेख गर्दै क्षति पुर्याउनेलाई कानुनी दायरामा ल्याउन कुनै कमी हुन नहुनेमा जोड दिए।