काठमाडौं । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दोस्रो चरणको काम सुुस्त गतिमा अघि बढिरहेको छ । पहिलो चरणको काम तोकिएको समयअघि नै पूरा भएको आयोजनाको दोस्रो चरणको काम सुस्त गतिमा छ ।
पहिलो चरणमा टनेल बोरिङ मेसिनबाट १२.२० किलोमिटर लामो र ४.२० मिटर व्यास भएको सुरुङ निर्माण तोकिएको अवधिभन्दा एक वर्षअघि नै सकिएको थियो । २०७६ साल वैशाख ३ गते सुरुङको ‘ब्रेक थ्रु’ गरिएको थियो ।
पहिलो चरणको सुरुङ खन्ने काम सकिएपछि आयोजनाको अन्य काम पनि छिट्टै हुने विश्वास गरिएको थियो तर दोस्रो चरणको कामको गति सुस्त बन्दा स्थानीय तथा सरोकारवाला सबैलाई चिन्ता बढेको छ ।
दोस्रो चरणमा हेड वक्र्स, बाँधलगायत अन्य काम गर्नुपर्नेछ । कहिले कोरोना, कहिले मजदुर अभावका कारण दोस्रो चरणको काम सोचेजस्तो हुन नसकेको आयोजना कार्यालयले जनाएको छ ।
लगातार काम अवरुद्ध हुँदा २०८० सालभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यमा चुनौती थपिएको छ ।