काठमाडौं। सोलुखोला दूधकोशी जलविद्युत् आयोजनामा भएको दुर्घटनाका बारेमा छानबिन गर्न समिति गठन गरिएको छ। पाइप पड्किएर दुई इञ्जिनीयरको मृत्यु भएको घटनाको विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा मंगलबार समिति गठन गरिएको मन्त्रालयले जनाएको छ।
ऊर्जामन्त्री पम्फा भुसालले दुर्घटनाको तत्काल छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएकी छन्। ऊर्जामन्त्री भुसालले दुई युवा तथा प्रतिभाशाली प्राविधिकको असामयिक निधनको खबरले आफूलाई अत्यन्त दुख लागेको भन्दै तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएकी हुन्।
८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको परीक्षणका क्रममा गत सोमबार पाइप विष्फोट भई इञ्जिनीयर सुवासराज रेग्मी र कर्मचारी अर्जुन थापाको निधन भएको थियो।