काभ्रेपलाञ्चोक । गत भदौ तेस्रो साता भएको ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड एवं आगजनी गरिएको बनेपा नगरपालिका क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि बजेट खोजिरहेको छ । करिब ४२ वर्ष पुरानो भवन भएकाले मर्मततर्फ ध्यान नदिई नयाँ भवन बनाउन बजेटको खोजी भइरहेको नगर कार्यालयले जनाएको छ ।
आन्दोलनका क्रममा कार्यालयमा करिब रु १० करोड बराबरको क्षति भएको नगर कार्यालयले गरेको प्राविधिक मूल्याङ्कनमा जनाइएको छ । बजेट व्यवस्थापन गर्न सकिए यसअघि बनाइएको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर)अनुसार क्षतिग्रस्त भवन भत्काएर आठतले सुविधायुक्त नयाँ भवन बनाइने नगर प्रमुख शान्तिरत्न शाक्यले बताए ।
उनका अनसार जसमध्ये दुई तला अन्डरग्राउण्ढ पार्किङ रहनेछ । उक्त योजनाअनुसारको भवन निर्माण गर्न रु ८० करोड लाग्ने शाक्यले बताए। उनले भने, “भवन निर्माणका लागि बजेटको खोजी गरिरहेका छौँ, प्रदेश सरकारबाट केही बजेट उपलब्ध गराउने आश्वासन पाएका छौँ ।” बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले यही कात्तिक दोस्रो साता क्षतिग्रस्त नगर भवनको अवलोकन गरी प्रदेश सरकारमार्फत केही सहयोग उपलब्ध गराउने आश्वासन दिएका थिए ।
त्यसबेला बानियाँले सङ्घीय सरकारसँग समन्वय गरी प्रदेशभित्रका क्षतिग्रस्त नगरपालिका तथा गाउँपालिका भवन निर्माणका लागि बजेट व्यवस्थापनमा पहल गर्ने बताएका थिए। हाल १० नं वडा कार्यालयबाट अस्थायी रूपमा नगर कार्यालय सञ्चालन गरिएको छ ।