काठमाडौं। कर्मचारी नबस्दा करोडौँ लागतमा निर्माण गरिएका अधिकांश सरकारी भवन प्रयोगविहीन बनेका छन्। सुदूरपश्चिम सरकारले प्रदेशको राजधानी कैलालीको गोदावरी तोकेसँगै डोटीको दिपायल र राजपुरमा निर्माण गरिएका अधिकांश सरकारी भवन प्रयोगविहीन बनेका हुन्।
यसअघि क्षेत्रीय सदरमुकाम रहेको दिपायलस्थित विभिन सरकारी कार्यालयमा कर्मचारी नबस्दा खाली भएका छन्। उक्त स्थानका क्षेत्रीयस्तरका कार्यालय प्रदेश सरकारले तोकेको राजधानी कैलाली गएपछि कर्मचारी नहुँदा कार्यालय प्रयोगविहीन बनेका हुन्। अहिले ती कार्यालय प्रयोगविहिन भएका छन्।
साविकको क्षेत्रीय प्रशासकको कार्यालय, स्वास्थ्य निर्देशनालय, शिक्षा निर्देशनालय, कृषिलगायत अन्य कार्यालयका भवन प्रयोगमा छैनन्। सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले क्षेत्रीयस्तरका कार्यालय दिपायल राजपुरमा तोकिएको र सोहीअनुसार कर्मचारी खटाइएको बताए। त्यहाँ खटिएका कर्मचारी बस्न नमाने वा नगए कारबाही हुने उनले जानकारी दिए।