काभ्रे। काभ्रेको नमोबुद्ध नगरपालिका–११ मा स्वास्थ्य अनुसन्धान केन्द्र निर्माण गरिने भएको छ।
नगरपालिका र धुलिखेल अस्पतालबीच सोमबार समझदारीपत्रमा हस्ताक्षर गरिएसँगै अनुसन्धान केन्द्र निर्माणको काम शुरु गरिने भएको हो।
निर्माण सम्पन्न भएपछि केन्द्रले नेपाल तथा अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानको नेतृत्व लिने बताइएको छ। नेपालसहित विश्वभरका विशेषज्ञ यसमा संलग्न हुनेछन्। स्वास्थ्य अनुसन्धानमा आधारित स्नातकोत्तर तथा पिएचडी कार्यक्रमका लागि यो अगुवा केन्द्रको रूपमा विकास हुने विश्वास गरिएको छ।
नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना र धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा.रामकण्ठ माकजुले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
उक्त जग्गाको भोगाधिकार प्राप्ति गर्न कानुनबमोजिम पूरा गर्नुपर्ने प्रक्रियाका लागि धुलिखेल अस्पतालले पहल गर्नेछ भने यसको सहजीकरण नमोबुद्धले गर्ने सहमति भएको छ।