कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाभित्र रहेका तीन सामुदायिक विद्यालयमा आधुनिक प्रविधिमार्फत संरचनागत मजबुतीकरण (रेट्रोफिटिङ) कार्य सुरु गरिने भएको छ । विद्यालय भवनलाई भूकम्प–प्रतिरोधी बनाउँदै सुरक्षित शैक्षिक वातावरण सुनिश्चित गर्ने उद्देश्यसहित चालु आर्थिक वर्षमा नगरपालिकाले यस कार्यक्रमलाई प्राथमिकतामा राखेको हो ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टीकेन्द्रराज भट्टका अनुसार रेट्रोफिटिङको पहिलो चरणमा वडा नं ५ को शिवशङ्कर माध्यमिक विद्यालय, गर्जमनी र वडा नं ८ को जनभावना आधारभूत विद्यालय, नौखरीमा कार्य गरिनेछ । दोस्रो चरणमा नगरपालिकाको वडा नं १ स्थित श्रीकृष्ण आधारभूत विद्यालय, रामनगरका जीर्ण अवस्थामा रहेका भवनमा रेट्रोफिटिङको काम गरिने उनले जानकारी दिए।
“रेट्रोफिटिङको कामका लागि ‘इ–विडिङ’ मार्फत कार्य गरिनेछ”, प्रमुख भट्टले भने, “त्यसका लागि रु ३० लाख बढी बजेटको व्यवस्थापन गरिएको छ ।” विद्यालय लामो समयदेखि सञ्चालनमा रहेकाले भौतिक संरचनामा कमजोरी देखिनु, कक्षाकोठामा चिरा पर्नु, भूकम्प जोखिम बढ्नु तथा भवनको भारवहन क्षमता घट्नुलगायत कारणले रेट्रोफिटिङ अनिवार्य भएको उनले उल्लेख गरे।