भोजपुर । भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको छ । कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी विगत लामो समयदेखि चल्दै आएको उक्त उद्योग जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनपछि बन्द गराएको हो ।
स्थलगत अनुगमनका क्रममा यो क्रसरले अवैध रुपमा प्राकृतिक स्रोतको दोहन गरेको पाइएपछि सञ्चालनमा रोक लगाइएको जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङले जानकारी दिए । अन्य क्रसर उद्योगहरु अनुगमन भइरहेको उनको भनाइ छ ।
“हामीले जिल्ला सञ्चालनमा रहेका क्रसर उद्योगको अनुगमन गरिरहेका छौँ”, प्रमुख थुलुङले भने, “कानुन विपरीत रहेका क्रसर उद्योगलाई कानुनी दायरामा ल्याउन बन्द गराउँदै आएका छौँ । अनुगमनका क्रममा अवैध रुपमा सञ्चालनमा रहेको पाइएपछि लेगुवाघाटमा रहेको क्रसर उद्योगलाई बन्द गराएका छौँ ।”
यो क्रसर उद्योगले अनधिकृत रुपमा नदी जन्यपदार्थ उन्खनन् गरेको पाइएको प्रमुख थुलुङले जानकारी दिए । आवश्यक कानुनी प्रक्रिया पूरा नगरेसम्म सञ्चालनको लागि रोक लगाइएको उनको भनाइ छ । अवैध रुपमा चलिरहेको उक्त क्रसर उद्योग सञ्चालनमा रोक लगाएपछि विभिन्न व्यक्ति तथा समूहले सञ्चालनको लागि दबाब दिइरहेको उनले बताए ।