काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले गाउँपालिका र नगरपालिकामा पनि भवन निर्माणको मापदण्ड अवलम्वन गर्नुपर्ने बताएका छन्। बुधबार २४ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले ग्रामीण क्षेत्रको निर्माण कार्यमा पनि मापदण्ड अवलम्वन गरिनु पर्ने र त्यसका लागि सम्बन्धित निकायले नेतृत्व गर्नुपर्ने बताएका हुन्।
उनले ग्रामीण भेगमा भवन निर्माण तीव्र हुन थालेको भन्दै भवन निर्माण गर्दा भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप बनाउन आग्रह गरेका छन्। शहरी क्षेत्रमा ठूला भवनहरु र विद्यालयका भवनहरु बनाउँदा सरकारले तोकेको मापदण्ड पालना भइरहेको उल्लेख गर्दै उनले ग्रामीण भेगमा पनि सरकारले तोकेको मापदण्ड पालना गरेर भवन निर्माण गर्न सम्बन्धित निकायलाई सचेत गराएका छन्।
उनले भने, ‘ठूला भवनहरु र विद्यालयको भवन निर्माण गर्ने क्रममा त सरकारको मापदण्ड अनुसार नै अवलम्वन गरिरहेको देखिन्छ । त्यसकारणले गाउँपालिकालाई पनि नगरपालिकाले अवलम्वन गर्ने मापदण्ड अवलम्वन गरिरहेको भए त्यो गाउँपालिकालाई धन्यवाद । गरिरहेको छैन त्यो गाउँपालिकाहरुलाई पनि भवन निर्माणको मापदण्ड अवलम्वन गर्नु उचित हुन्छ जस्तो लाग्छ । त्यसका लागि सम्बन्धित निकायहरुले नेतृत्व गर्नुपर्ने र पहल गर्नुपर्ने देखिन्छ ।’