कास्की । देशको पर्यटकीय सहर पोखरामा जलन (बर्न) अस्पताल निर्माणका लागि आवश्यक परामर्श तथा सम्भाव्यता अध्ययन सुरु भएको छ । पोखरा–२७ स्थित साविक लेखनाथ नगरपालिका कार्यालय रहेको जमिनमा महानगरले एक सय बेड क्षमताको जलन र विशेषज्ञ अस्पताल निर्माणको योजना अघि सारेको हो ।
यस योजनामा कोरियन सहयोग नियोग (कोइका)ले सहयोग गर्ने र त्यसका लागि सम्भाव्यता अध्ययन गर्न कोइकाको टोली पोखरा आएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए ।
उनका अनुसार कोइकाका देशीय निर्देशक मुहोन कोङसहित विभिन्न विषयका १७ जना कोरियाली विज्ञहरूको टोलीले पोखरामा रहेर अस्पताल निर्माण सम्बन्धमा आवश्यक परामर्श गरिरहेको छ ।
महानगर प्रमुख आचार्यले भने– ‘पोखरामा विशिष्टीकृत बर्न हस्पिटल बन्ने पक्का भएको छ । यो अस्पताल बनेपछि पोखरा र यस वरपरका बासिन्दालाई अत्याधुनिक विशेषज्ञसहितको स्वास्थ्योपचार सुविधा प्राप्त हुनेछ । कोइकाको उच्चस्तरीय टोलीले यसका लागि विस्तृत अध्ययन सुरु गरिसकेको छ ।’
२०८१ फागुन ३ गते पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट हुँदा तत्कालीन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र महानगर प्रमुख आचार्य जलेर घाइते भएका थिए । पोखरामा जलनको अस्पताल नभएपछि उनीहरूलाई काठमाडौंमा उपचार गरिएको थियो ।