म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, महभिरमा वडा कार्यालयको आफ्नै भवन बनाउन स्थानीय १० जना दाताहरूले करिब एक करोड रुपैयाँ मूल्य पर्ने जग्गा निःशुल्क उपलब्ध गराएका छन्।
कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकसँगै जोडिएको पर्यटकीय क्षेत्र महभिर झरना नजिकैको चार रोपनी जग्गा वडा कार्यालयको नाममा पास गरिएको हो ।
वडाध्यक्ष मइलन गर्बुजा पुनका अनुसार, भक्तराज पुन, चतिमा गर्बुजा, भक्तबहादुर गर्बुजा, लोकबहादुर फगामी, लोकबहादुर पुन, भिममाया गर्बुजा, गौमाया गर्बुजा, सुनमति गर्बुजा, प्रितिम रन्तिजा र गौरी गर्बुजाले संयुक्त रूपमा ११ कित्ता जग्गा दान गरेका हुन्।
साविक हिस्तान गाविसका पाँचवटै टोलको भेलाले तीन वर्षअघि गरेको सहमतिअनुसार अहिले जग्गा प्राप्तिको कानुनी प्रक्रिया पूरा भएको वडाध्यक्ष पुनले जानकारी दिए।
जग्गा प्राप्त भएसँगै गाउँपालिकाले १ करोड ३९ लाख रुपैयाँको लागत अनुमानमा हिस्तान वडा कार्यालय भवन निर्माणका लागि आइतबार ठेक्का आह्वान समेत गरिसकेको छ। स्थानीयको यो दानले सार्वजनिक सेवा प्रवाहका लागि स्थायी पूर्वाधार बनाउने बाटो खुलेको छ।