मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोममा निर्माणाधीन जिल्लाकै एकमात्र २५ शय्याको दुईतले पक्की अपाङ्गमैत्री प्रादेशिक अस्पताल भवन हस्तान्तरणको अन्तिम चरणमा छ । विसं २०७७ चैत २ गते दुई वर्षमा सम्पन्न गर्नेगरी निर्माण सुरु गरिएको यहाँको अस्पताल भवनको पूर्वाधार हस्तान्तरण गर्ने तयारीमा रहेको छ ।
अपाङ्गतामैत्री दुईतले अस्पताल भवन सुरुआती ठेक्का सम्झौता अनुसार २०७९ साल १ चैतमा सकिनुपर्ने थियो । तर अस्पताल भवनको छानो छाउने डिपिआर डिजाइनमा प्राविधिक त्रुटि देखिँदा भवन निर्माण केही वर्ष रोकिएको थियो ।
निर्माण कम्पनीले ‘भिओ’ स्वीकृत नगरी काम अघि नबढाएपछि सार्वजनिक खरिद ऐन, १३औँ संशोधनअनुसार अस्पताल भवनको म्याद २०८१ साल २ पुससम्म थप गरिएको थियो । त्यसपछि यहाँ निर्माणाधीन अस्पताल भवनको प्रि–डिजाइन गरी भिओ स्वीकृत गरिएपछि अस्पताल भवन निर्माणको काम अघि बढेको थियो ।
निर्माणाधीन भवनको गण्डकी प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयले बजेट विनियोजन गरेपछि निर्माणको ठेक्का सम्झौता भएको थियो । भवन निर्माणको लागत अनुमान रु १६ करोड ३४ लाख रहेकामा रु १० करोड २१ लाखमा इमोटल कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो ।
अपाङ्गतामत्री स्वास्थ्य सेवा प्रवाह गर्नेगरी प्रदेश अस्पतालको भौतिक संरचना निर्माण भएको घरपझोङ गाउँपालिकाका सबइन्जिनियर राजन कँडेलले जानकारी दिए । भवन निर्माणको बजेट प्रदेश सरकारबाट र प्राविधिक पक्षको जिम्मा गाउँपालिकालाई अख्तियारी दिइएको सबइन्जिनियर कँडेलले उल्लेख गरे ।
अस्पताल भवनको भौतिक र वित्तीय प्रगति शतप्रतिशत भएको र निर्माण कम्पनीसँग भवनको परीक्षणकाल (डिएलपी)को अवधि रहेको सबइन्जिनियर कँडेलले बताए । उनले भने, “अस्पताल भवन निर्माण सकिएको छ, भवनमा विद्युत् र सेनेटरी पक्षमा आंशिक त्रुटि भएकाले सच्याउन लगाएका छौँ, निर्माण कम्पनीले त्रुटि सच्याएपछि भवन हस्तान्तरण हुनेछ ।”