नवलपुर । संघ र प्रदेश सरकार अन्तरगतका कार्यालयसँगै खेल मैदान समेत एकै स्थानमा निर्माण गरेर सेवा सञ्चालन गर्ने उद्देश्यले पूर्वी नवलपरासीमा नमुना सदरमुकाम निर्माणको काम तीव्र गतिमा थालिएको छ ।
२०७६ सालमा शिलान्यास भएको नमुना सदरमुकाम निर्माणको कामले बल्ल तिव्रता पाएको हो । ३ अर्ब ९० करोड लागतमा १३ वटा भवन बनाउने काम भइरहेको हो ।
जिल्ला प्रशासन, एकीकृत भवन र आआफ्नो मन्त्रालय मार्फत अन्य कार्यालय भवन निर्माणको काम धमाधम भइरहेको छ । २०७६ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको नमुना सदरमुकाम योजना रुख कटान, डिपिआरलगायतमा ढिलो हुँदा काम अगाडि बढ्न सकेको थिएन ।
यसअघि सबै भौतिक संरचना एकै पटक संघीय सरकारले निर्माण गर्ने तय भए पनि बजेट अभाव भएपछि आआफ्नो मन्त्रालय मार्फत विनियोजन गरेर आवश्यकता अनुसारका भवन निमार्णको काम अगाडि बढाइएको हो । यसका लागि कावासोती नगरपालिकामा रहेको १ सय ८६ बिघा वन क्षेत्रको जग्गा सरकारले आफू मातहत ल्याएको छ ।
अहिले दुई वटा टेन्डर मार्फत काम अगाडि बढिरहेको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका इन्जिनियर द्रोण कटुवालले बताए। जिल्ला प्रशासन र एकीकृत भवन निर्माणको काम ३० करोड ६५ लाखको लागतमा भइरहेको छ ।