काठमाडौं। वि.सं. २०७२ को विनासकारी भूकम्पका कारण क्षति भएको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम सम्पन्न भएको छ। काठमाडौं महानगरपालिकाको रु ११ करोड ५० लाख सहयोगमा स्थानीय उपभोक्ता समितिमार्फत् काष्ठमण्डपको निर्माण गरिएको हो।
आगामी माघ २ गते भूकम्प दिवसका दिन नवनिर्मित काष्ठमण्डपको उद्धघाटन गर्ने तयारी भइरहेको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिएका छन्। यसैगरी सोही दिन काष्ठमण्डपको ऐतिहासिक महत्व र पुनः निर्माणका क्रममा भएको जानकारी समावेश गरिएको पुस्तक प्रकाशनको तयारी पनि भइरहेको छ।
काष्ठमण्डप पुनःनिर्माणमा बारा, पर्सा, महोत्तरी, रौतहट, कञ्चनपुर र चितवन गरी ६ जिल्लाबाट ल्याइएको सालको काठ प्रयोग गरिएको छ। काष्ठमण्डपका मूल चार थाममध्ये एउटा थाम पुरानै र तीन थाम नयाँ प्रयोग गरिएको छ। प्रयोग भएको पुरानो थाम हजार वर्ष पुरानो हो भने नयाँ थाम महोत्तरीबाट ल्यायाइएको अग्राखको हो। नयाँ काठसँगै पुनःनिर्माणमा पुरानो काठ पनि प्रयोग भएका छन्। यसैगरी पुनःनिर्माणका क्रममा काष्ठमण्डपमा काठबाहेक ढुङ्गा, माटो, इँटालगायतका सामग्री प्रयोग गरिएको छ।