भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाको दीर्घकालीन प्रशासनिक संरचना सुदृढ बनाउने लक्ष्यसहित निर्माण भइरहेको प्रशासनिक भवनको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म भवन निर्माणको भौतिक प्रगति करिब ७० प्रतिशत र आर्थिक प्रगति ५४ प्रतिशत पुगेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको प्रशासनिक सेवा एकै स्थानबाट प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले आर्थिक वर्ष २०८०र८१ बाट भवन निर्माण सुरु गरिएको हो । भवन निर्माणमा गाउँपालिकाको ४० प्रतिशत र सङ्घीय सरकारको ६० प्रतिशत लगानी रहेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार संरचनागत काम अधिकांश सम्पन्न भइसकेको छ । प्रशासनिक भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ, भौतिक प्रगति ७० प्रतिशत हाराहारी पुगेको छ र बाँकी काम पनि सम्झौता अवधिभित्रै सम्पन्न गर्ने लक्ष्य छ ।
गाउँपालिका अध्यक्ष किरण राईले प्रशासनिक भवनको कुल लागत रु छ करोड ८० लाख रहेको जानकारी दिए । चारतले उक्त भवनमा २४ वटा प्रशासनिक कोठा र १६ वटा व्यावसायिक सटर निर्माण गरिएको छ । सटर सञ्चालनबाट गाउँपालिकालाई आन्तरिक आम्दानी वृद्धि हुने अपेक्षा गरिएको छ ।