काठमाडौं । नेपाल उद्योग परिसंघ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठबीच सोमबार छलफल भएको छ ।
परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ टोलीले सोमबार बधाई तथा शुभकामना दिँदै ऊर्जा क्षेत्रका विकासका विषयमा छलफल गरेको हो ।
सो अवसरमा अध्यक्ष पाण्डेले विद्युत् खपत बढाउने नीति अवलम्बन गरिनुपर्नेमा जोड दिए । उनले उद्योगलाई आवश्यक ऊर्जा उत्पादन गरी ह्विलिङ चार्ज लगाई प्रसारण गर्न दिने नीति कार्यान्वयन गर्न, निजी क्षेत्रलाई विद्युत्को आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारको अनुमति दिने नीति लिन सुझाए ।
नेपाल सरकारबाट स्वीकृति लिई सर्भे सम्पन्न गरिसकेका र विद्युत् खरिद सम्झौता हुन बाँकी सबै परियोजनासँग तत्काल विद्युत् खरिद सम्झौता ९पीपीए० गर्न, विद्युत्को आन्तरिक खपत बढाउने नीति लिन, जीवाश्म इन्धन आधारित उद्योगलाई विद्युत्मा आधारित उपकरणले विस्थापित गर्न सहुलियत दिने व्यवस्था गर्न आग्रह गरे ।
उनले वैकल्पिक ऊर्जा स्रोततर्फ पनि ध्यान दिइनुपर्नेमा जोड दिए ।
मन्त्री श्रेष्ठले समग्र ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको बताए । उनले विद्युत् निर्यातसँगै आन्तरिक खपत कसरी बढाउने भन्नेतर्फ पनि सरकारले गृहकार्य गरिरहेको बताए ।