धनुषाको बटेश्वर गाउँपालिका–३ स्थित श्री जनशक्ति माध्यमिक विद्यालयमा भारत सरकारको सहयोगमा चारतले भवनको शिलान्यास गरिएको छ। वीरगन्जस्थित भारतीय महावाणिज्यदूत देवी सहाय ‘मिना’ले एक समारोहबीच भवन शिलान्यास गरेका हुन्।
करिब चार करोड रुपैयाँ लागतमा निर्माण हुने उक्त भवनमा विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, पुस्तकालय, शिक्षक–कर्मचारी कक्ष, बैठक कक्ष तथा बालमैत्री शौचालय रहनेछ।
महावाणिज्यदूत मिनाले मधेश प्रदेशमा ८९ उच्च प्रभाव सामुदायिक विकास परियोजना स्वीकृत भएको जानकारी दिँदै शिक्षा र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा प्रशासनिक अधिकारीहरूको उपस्थिति रहेको थियो।