बागलुङको जैमिनी नगरपालिकाले घरविहीन नागरिकलाई लक्षित गर्दै उल्लेखनीय काम गरेको छ। सुकुम्बासी, विपद्का कारण विस्थापित तथा आर्थिक रूपमा कमजोर परिवारका लागि नगरपालिकाले हालसम्म ३६ वटा घर निर्माण गरी हस्तान्तरण गरेको छ।
नगरपालिकाले अघि सारेको योजनाअनुसार १३ सुकुम्बासी परिवार, विपद्बाट घरविहीन भएका १२ परिवार र आर्थिक अभावका कारण घर पुनर्निर्माण गर्न नसकेका अन्य परिवारलाई प्राथमिकतामा राखिएको थियो। कुल ४१ परिवारलाई सहयोग गर्ने लक्ष्य भए पनि पहिलो चरणमा ३६ घर निर्माण सम्पन्न गरिएको उपप्रमुख हरिहर शर्माले जानकारी दिएका छन्। यो कार्यक्रम नगरपालिकाका सबै १० वडामा लागू गरिएको छ।
घर निर्माणका लागि नगरपालिकाले विभिन्न मापदण्ड अनुसार आर्थिक सहयोग पनि उपलब्ध गराउँदै आएको छ। सुकुम्बासी परिवारका लागि ३ लाख रुपैयाँ, विपद्का कारण घर गुमाएका परिवारका लागि २ लाख ५० हजार रुपैयाँ, र आर्थिक रूपमा कमजोर परिवारका लागि २ लाख रुपैयाँ प्रदान गर्ने व्यवस्था गरिएको छ। सुकुम्बासी परिवारका लागि भने नगरपालिकाले जग्गा खरिद गरेरै घर निर्माण गरिदिएको बताइएको छ।
यो योजना नयाँ नभई पहिले नै सुरु गरिएको भए पनि वर्तमान जनप्रतिनिधि आएपछि यसको कार्यान्वयनलाई तीव्रता दिइएको हो। सुरुमा सुकुम्बासी परिवारको व्यवस्थापन गर्दै उनीहरूलाई जग्गा उपलब्ध गराइएको र त्यसपछि घर निर्माण गरिएको उपप्रमुख शर्माले बताएका छन्।
पहिलो चरणमा तीन पुस्तासम्म घरविहीन रहेका परिवारलाई घर उपलब्ध गराइएको थियो भने दोस्रो चरणमा विपद् र गरिबीका कारण अरूको घरमा बस्न बाध्य भएका परिवारलाई प्राथमिकता दिइएको छ।
वडा नम्बर ४ की देउरूपा सार्कीले नगरपालिकाको सहयोगपछि आफ्नै घरमा बस्न पाएकोमा खुसी व्यक्त गरिन्। उनका अनुसार अरूको घरमा बस्दा धेरै समस्या भोग्नुपर्थ्यो, तर अहिले आफ्नै घर भएपछि सहज भएको छ। उनले सरकारबाट आफ्नो समस्या बुझेर सहयोग गरिएकोमा आभारसमेत व्यक्त गरिन्।