सिरहा- शिक्षा क्षेत्रको आधारभूत पूर्वाधार सुदृढ पार्ने उद्देश्यसहित विल्डअन नेपाल र लहान नगरपालिकाबीचको सहकार्यमा पाँच वटा आधारभूत विद्यालयका भवन निर्माण कार्यलाई तीव्रता दिइएको छ। जीर्ण तथा अपर्याप्त संरचनाका कारण प्रभावित शिक्षण–अध्ययनलाई सुधार गर्ने लक्ष्यसहित यो पहल अघि बढाइएको हो।
लहान–१५ स्थित राजदेवी आधारभूत विद्यालय र सोभापुरको बाबा सन्यासी आधारभूत विद्यालयमा तीन कोठे नयाँ भवन र दुई कोठे शौचालय निर्माणका लागि शिलान्यास गरिएको छ। उक्त कार्यक्रममा संस्थाकी केन्द्रीय निर्देशक निर्मला चौधरी र नगरप्रमुख महेशप्रसाद चौधरी सहभागी थिए। निर्माण कार्य अघि बढाउन नगरपालिका, संस्था र स्थानीय समुदायबीच त्रिपक्षीय सम्झौता समेत गरिएको छ।
यसअघि नै गत चैत महिनामा वडा नं. १, २ र ४ अन्तर्गत सिंगराही मटियर्वा आधारभूत विद्यालय, भानु आधारभूत विद्यालय तथा मधेस सहिद विजय सहनी आधारभूत विद्यालयका भवन निर्माणको प्रक्रिया सुरु भइसकेको छ। संस्थाले सन् २०२६ भित्र मधेस प्रदेशमा ४० वटा विद्यालय भवन निर्माण गर्ने लक्ष्य राखेको छ, जसमध्ये सिरहामा मात्र २० वटा भवन निर्माण गरिने योजना छ।
निर्देशक चौधरीका अनुसार ग्रामीण भेगमा शिक्षाको पहुँच विस्तार गर्न विद्यालय भवन निर्माणमा जोड दिइएको हो।
प्रत्येक विद्यालय भवन निर्माणका लागि करिब ४९ लाख ९८ हजार रुपैयाँ लागत अनुमान गरिएको छ। जसमा संस्थाको ३३ लाख ९७ हजार र नगरपालिकाको १५ लाख रुपैयाँ योगदान रहनेछ। निर्माण सामग्रीमध्ये छड, सिमेन्ट र फर्निचर संस्थाले उपलब्ध गराउनेछ भने बालुवा, गिट्टी र ढुंगा स्थानीय तहले व्यवस्थापन गर्नेछ। साथै, समुदायको सहभागिता सुनिश्चित गर्न जनश्रमदानलाई अनिवार्य बनाइएको छ।