चितवन । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको कामले गति लिने भएको छ। प्रसारण लाइन विस्तारका लागि चितवन जिल्लाका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएपछि निर्माण प्रक्रिया अघि बढ्ने भएको हो ।
डिभिजन वन कार्यालय चितवनले शुक्रबारदेखि लागू हुने गरी आयोजनालाई वन प्रवेश इजाजतपत्र प्रदान गरेको जनाएको छ । उक्त अनुमति अनुसार प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रुख कटान, मुछान तथा सुरक्षित घाटगद्दी व्यवस्थापनको काम अब औपचारिक रूपमा सुरु गर्न सकिनेछ । यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालयबीच आवश्यक सम्झौतासमेत सम्पन्न भइसकेको छ ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार भरतपुर महानगरपालिका–१ मा रहेको सतनचुली संरक्षित क्षेत्र तथा सतनचुली सामुदायिक वन, साथै वडा नम्बर २९ अन्तर्गत अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका एक हजार २६३ वटा रुख कटान गरिनेछ ।
कटान गरिएका रुखहरू सम्बन्धित सामुदायिक वन उपभोक्ता समूह र सब–डिभिजन वन कार्यालयले तोकेको सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसअघि नेपाल सरकार मन्त्रिपरिषद्ले २०७९ मङ्सिर २० गते प्रसारण लाइन निर्माणका लागि चितवन र तनहुँ जिल्लामा गरी कुल ९२ दशमलव ७३ हेक्टर वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको थियो । सो निर्णयअनुसार नौ हजारभन्दा बढी रुख हटाउन अनुमति दिइएको छ ।
आयोजना र वन तथा भू–संरक्षण विभागबीच २०८२ पुस ३० गते सम्झौता भएपछि वन क्षेत्रभित्र पर्ने रुखहरूको छपान कार्य अघि बढाइएको थियो । तनहुँ जिल्लामा पर्ने क्षेत्रमा अहिले पनि छपान कार्य जारी रहेको आयोजनाले जनाएको छ ।