काठमाडौं। कृषि उद्योगमा अग्रणी निम्बसले फुडपार्क निर्माण गर्ने भएको छ। उक्त फुडपार्कबाट उच्च पोषण भएका तयारी खानेकुरा उत्पादन गरिने उधोगको योजना रहेको छ।
उद्योगले वीरगञ्जमा चार बिघा जग्गा किनेर हाल भवन निर्माण प्रक्रिया सुरु गरेको छ। सो फुडपार्कबाट मस्यौरा, चामल, दाल, मकैलगायतका उच्च पोषण भएका खाद्य वस्तुबाट तयारी खानेकुरा उत्पादन गरिनेछ। सो कम्पनीले उक्त उत्पादनलाई स्वदेशमा मात्रै नभएर विदेशी बजारमा पनि बिक्री गर्ने लक्ष्य राखेको छ।
१ अर्बदेखि सवा अर्ब रुपैयाँसम्ममा निर्माण हुने फुडपार्कबाट आगामी ६ देखि ८ महिनासम्ममा पहिलो उत्पादन बजारमा ल्याइसक्ने योजना रहेको कम्पनीले जनाएको छ। आगामी वर्षहरुमा १० देखि १५ करोड रुपैयाँ लगानी बढाउँदै लाने र यससँगै एक–दुईटा उत्पादनका प्रकारहरु पनि थप्दै जाने कम्पनीको योजना रहेको छ। साथै पाँच वर्षभित्रमा यसका चाररपाँच वटा शाखा सञ्चालनमा ल्याउने योजनासहित कम्पनी अघि बढेको छ। यसका लागि पाए भाडाको जग्गा लिएर नपाएमा आफै जग्गा किनेर प्लान्ट लगाउने कम्पनीको योजना रहेको छ।