म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा प्रसूति गृह र सामुदायिक भवन निर्माण गरिएका छन् । निलगिरिखोला जलविद्युत आयोजनाको रु ६८ लाख ४९ हजार सहयोगमा नारच्याङ स्वास्थ्य चौकी परिसरमा प्रसूति गृह र बाँसबोटमा सामुदायिक भवन निर्माण गरिएका हुन् ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले ३८ मेगावाट क्षमताको निलगिरी–१, ७१ मेगावाट क्षमताको निलगिरी–२ जलविद्युत् आयोजनाको प्रवर्द्धक निलगिरि खोला हाइड्रोपावरले सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत भवन निर्माणमा सहयोग गरेको बताए।
चारकोठे दुई तले प्रसूति गृह भवनमा गाउँपालिकाले स्वास्थ्य सामग्री र उपकरण व्यवस्थापन गरेर प्रसूति गृह सञ्चालन गरेको छ । बाँसबोटमा निर्माण भएको सभाहलसहितको दुई तले भवनमा भेला, बैठक, तालिम, गोष्ठीका साथै भोजभतेर र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सहज भएको स्थानीय तम चोचाङ्गीले बताए।
बाँसबोटको भवन निर्माणका लागि स्थानीय डिलमाया तिलिजाले चार रोपनी आठ आना जग्गा निःशूल्क उपलब्ध गराएका थिए । आयोजनाले वडा कार्यालयको सिफारिस र प्रभावित क्षेत्रका बासिन्दाको मागअनुसार अन्य स्थानीय विकास निर्माण तथा सामाजिक क्षेत्रमा पनि सहयोग गरिरहेको जनाएको छ ।