कैलालीको विभिन्न वन क्षेत्रमा वर्षौँदेखि भएको अतिक्रमण हटाउन ठूलो कारबाही गरिएको छ।
डिभिजन वन कार्यालय कैलालीले शुक्रबार सञ्चालन गरेको अभियानमा ४७ वटा कच्ची तथा पक्की संरचना भत्काइएको छ। करिब ३५ हेक्टर वन क्षेत्र खाली गराउँदै अवैध रूपमा बनेका घर, टहरा र अन्य संरचना हटाइएको हो।
डिभिजन वन कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका अन्तर्गत भिमदत्त राजमार्ग आसपासको वन क्षेत्रमा केन्द्रित भएर यो अभियान सञ्चालन गरिएको हो। भ्यागुते पानी, बासपानी र गोदावरी क्षेत्र आसपास लामो समयदेखि बनाइएका अवैध संरचना हटाइएको उनले बताए।
अभियानमा डिभिजन वन कार्यालयका सबै १० वटा सव–डिभिजन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित करिब २०० जनाको संयुक्त टोली परिचालन गरिएको थियो।
वन कार्यालयका अनुसार वन क्षेत्र संरक्षण, सीमाङ्कनलाई प्रभावकारी बनाउने र पुनः अतिक्रमण रोक्ने उद्देश्यले यो अभियान चलाइएको हो।
यसअघि पनि अत्तरिया क्षेत्र र पूर्व–पश्चिम राजमार्ग आसपासका अवैध संरचना हटाइएका थिए। तर वन क्षेत्रमा पुनः अतिक्रमण हुने समस्या देखिँदै आएको छ।
कैलालीलाई वन अतिक्रमणको दृष्टिले देशकै सबैभन्दा संवेदनशील जिल्लामध्ये एक मानिन्छ। महालेखा परीक्षकको प्रतिवेदन अनुसार देशभर अतिक्रमित वन क्षेत्रमध्ये ठूलो हिस्सा कैलालीमै रहेको छ।
तर पछिल्ला वर्षहरूमा वन कार्यालयले निगरानी र कारबाही तीव्र बनाउँदै अतिक्रमण नियन्त्रणमा कडाइ गरिरहेको छ।