काठमाडौं। ऐतिहासिक महत्त्वको सम्पदा नारायणहिटी दरबार सङ्ग्रहालय परिसरको करिब १० रोपनी जग्गा रेस्टुरेन्ट व्यवसाय सञ्चालनका लागि भाडामा लगाइएको छ। भाडामा लगाइएपछि त्यहाँ विभिन्न स्थायी संरचना निर्माण हुँदैछन् तर तिनको नक्सा भने हालसम्म पास गरिएको छैन्।
निजी तथा सरकारी जग्गामा कुनै पनि संरचना निर्माण गर्दा सम्बन्धित स्थानीय तहबाट नक्सा पास अनिवार्य गरिएको भएपनि नारायणहिटी सङ्ग्रहालयभित्र निर्माणाधीन रेस्टुरेन्टका लागि आवश्यक संरचना निर्माणसम्बन्धी नक्सापास तथा स्थलगत नापजाँचसमेत नगरी निर्माण कार्य सुरु गरीएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समन्वय समितिले एक वर्षअघि सङ्ग्रहालयको मुख्य प्रवेशद्वारभन्दा पश्चिमतर्फको जग्गा भाडामा दिएको हो। त्यसैअनुसार रेस्टुरेन्ट हाल संरचना निर्माण हुँदै छ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं सङ्ग्रहालयका संरक्षक योगेश भट्टराई र सचिव यादवप्रसाद कोइरालाको कार्यकालमा सो जग्गा बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट नामको कम्पनीलाई भाडामा दिइएको सङ्ग्रहालयकै कर्मचारीले जानकारी दिएका छन्। सो जग्गामा हाल धमाधम रेस्टुरेन्ट निर्माण भइरहेको छ।
रेस्टुरेन्ट सञ्चालनको लागि जग्गा भाडामा लिएको बीपीएसले मासिक दुई लाख २० हजार रुपियाँ बुझाउने र हरेक तीन वर्षमा सम्झौता थप्ने गरी सम्झौता भएको छ्। तर दरबारमार्ग क्षेत्रमा प्रतिसटर भाडा प्रतिमहिना ५ लाखदेखि १५ लाख रुपियाँसम्म रहेको व्यवसायीले जानकारी दिएका छन्। उक्त रेस्टुरेन्ट सञ्चालन नगर्दै बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टको नाम परिवर्तनको प्रक्रिया सुरु गरीएको छ।