गुल्मी। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गुल्मीको धुर्कोट क्षेत्रको विकासमा आफ्नो हातेमालो रहने बताएकी छन्। धुर माध्यमिक विद्यालयको वार्षिकोत्सव समारोह कार्यक्रममा मन्त्री झाँक्रीले धुर्कोटको शिक्षा क्षेत्रलगायत अन्य विकासका काममा आफूले हातेमालो गर्ने बताएकी हुन्।
उनले नेपालको शिक्षा नीतिलाई परिवर्तन गर्न आवश्यक रहेको समेत बताइन्।
विद्यालयको सरंचना कस्तो बनाउने भन्ने कुरा ठूलो नभएको बताउँदै कक्षा कोठाको सिकाई, पढनपाठन कस्तो छ भन्ने कुरा महत्त्वपूर्ण भएको बताइन्। विद्यार्थीहरुको भोलिको शिक्षा कस्तो हुन्छ भन्ने कुराको ग्यारेन्टी कक्षा कोठाको सिकाईले नै गर्ने भएकाले शिक्षकहरुले सिकाईमा विशेष ध्यान दिनु पर्ने मन्त्री झाँक्रीको भनाइ छ।
सरकारी विद्यालयहरुमा देशभर नै शिक्षकको दरबन्दी अभाव रहेको भन्दै यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर सरकार गम्भीरतापूर्वक लागेको उनले बताइन्।
उनले भनिन्, ‘यस विद्यालयको भौतिक र शैक्षिक सुधारमा मेरो भूमिका अवश्य रहन्छ।’
मन्त्री झाँक्रीले धुर माध्यमिक विद्यालयमा नवनिर्मित चार कोठे भवनको उद्घाटन समेत गरेकी छन्।