म्याग्दी । बेनी नगरपालिका–२ बगरफाँटमा रहेको सरस्वती आधारभूत विद्यालयमा कक्षा कोठा भवन निर्माण भएको छ ।
ब्रिटिस गोर्खा वेल्फेयर र विद्यालयको साझेदारीमा अपाङ्गमैत्री, भूकम्प प्रतिरोधी क्षमताको तीनकोठे एकतले भवन निर्माण भएको हो । रु २८ लाख ६३ हजारको लागतमा भवन र शौचालय निर्माण भएको विद्यालयका प्रअ कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।
ब्रिटिस गोर्खा वेल्फेयरले रु २४ लाख ७५ हजार सहयोग गरेको भवन र शौचालय बनाउने विद्यालयले रु तीन लाख ८८ हजार ७९६ बराबरको श्रमदान र नगद लगानी गरेको प्रअ सुवेदीले बताए ।
पुराना भवन जीर्ण र साँघुरो भएपछि पठनपाठनमा समस्या भएको थियो । नयाँ भवन बनेपछि पठपाठन सहज भएको छ । प्रअ सुवेदीका अनुसार कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा हाल ५५ विद्यार्थी छन् ।