हुम्ला। जिल्ला अस्पताल हुम्लामा जेनेरेटर जडान गरिएको छ। कर्णाली प्रदेश सरकारको विशेष सहयोगअन्तर्गत अस्पतालमा ६२.५ केभिए क्षमताको जेनेटर जडान गरिएको हो।
विद्युत् नियमित नहुँदा टर्च टाइट बालेर उपचार गर्नुपर्ने बाध्यता रहेकोमा जेनेरेटर जडानपछि उपचार सेवा सहज भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।
विद्युतको अनियमितताले सुत्केरी गराउन तथा शल्यक्रिया गर्न समस्या हुनुका साथै भिडियो एक्सरे तथा सिटीस्क्यान गर्न समेत समस्या थियो।
अब अस्पतालले अत्यावश्यक कामका लागि जेनेरेटर चौबीसैँ घण्टा सञ्चालन गर्ने जनाइएको छ। अस्पतालका लागि उक्त जेनेरेटरको लागि बजेट व्यवस्थापन गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सामाजिक विकास मन्त्रालयलाई विशेष निर्देशन दिएका थिए।