काठमाडौं। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ कानपुरको वडा कार्यालय र स्वास्थ्यचौकी भवन एकसाथ शिलान्यास गरिएको छ। नगर प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले दुवै भवन एकसाथ शिलान्यास गरेका हुन्।
दुवै सुविधा सम्पन्न भवन यही आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिने नगरपालिकाको लक्ष्य रहेको छ। वडा कार्यालयको भवन भ्याटबाहेक करिब ३९ लाखमा निर्माणका लागि गतिशील निर्माण सेवा हेटौडासँग ठेक्का सम्झौता भएको छ भने स्वास्थ्यचौकी भवन निर्माणका लागि राज कन्स्ट्रक्सन काठमाडौंसँग भ्याटबाहेक २१ लाख बढीमा ठेक्का सम्झौता भएको नगरपालिकाले जानकारी दिएको छ।
उक्त नगरपालिकाले यसअघि वडा नं २, ३, ६, ७, ८, ९, १० र ११ को वडा कार्यालय भवन निर्माण गरी सेवा सुचारु गरेको छ। वडा नं ४ मा यहि वर्ष निर्माण सक्ने गरी भवन निर्माणको काम भइरहेको छ भने वडा नं १ को भवनको निर्माण कार्य थाल्ने तयारी भइरहेको छ।
वडा कार्यालयसँगै स्वास्थ्यचौकी भवन पनि निर्माण हुने भएपछि उक्त वडामा दुईवटा स्वास्थ्यचौकी भवन हुने जनाइएको छ। यो भन्दा अगाडी कानपुरको बोहोरेमा पनि ग्रामीण स्वास्थ्य केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ