काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ विद्युत् तथा सिँचाइ पूर्वाधारको निरीक्षणका लागि कोशी प्रदेशको जाने भएका छन् । मन्त्री श्रेष्ठ आफ्नो टिमका साथ आज दिउँसो १ बजे कोशी प्रदेशको राजधानी विराटनगर प्रस्थान गर्दैछन् ।
टोलीले पूर्वमा विद्यमान विद्युत् समस्या, प्रसारण लाइनलगायत पूर्वाधारको अवस्थाको निरीक्षण गर्नेछ । यसैगरी पूर्वमा सिँचाइको पहुँच, नहरहरूको अवस्थाको पनि स्थलगत अवलोकन गरेर आवश्यक सुधारका लागि रणनीति बनाइनेछ ।
ऊर्जामन्त्री श्रेष्ठको टिममा मन्त्रालयका सचिव सरिता दवाडी, सहसचिव मोहनकुमार शाक्य, मन्त्रीका निजी सचिव सुदर्शन श्रेष्ठ, सचिवालय सदस्य देवेश बेल्बासेलगायत छन् ।
यसैगरी जलस्रोत तथा सिँचाइ विभागबाट महानिर्देशक डा.महेश्वर श्रेष्ठ, उपमहानिर्देशक दिनेश भट्ट, नेपाल विद्युत् प्राधिकरणका कामु निर्देशक दीर्घायुकुमार श्रेष्ठसहित अधिकारी जाँदै छन् ।