म्याग्दी । जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग र वृक्षारोपणबापत राजस्व बुझाएपछि डिभिजन वन कार्यालय म्याग्दीको आम्दानी चार गुणाभन्दा बढीले वृद्धि भएको छ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा रु. १ करोड १६ लाख ३५ हजार २८ राजस्व सङ्कलन भएकामा आव २०८२/८३ मा रु. ५ करोड ३६ लाख ५३ हजार १३६ सङ्कलन भएको छ।
गत आवमा मात्रै ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाले सरकारी वन क्षेत्र उपयोग तथा वृक्षारोपणबापत रु. ५ करोड २९ लाख ४० हजार ३४१ राजस्व बुझाएको डिभिजनल वन अधिकृत बसन्तकेशव अधिकारीले जानकारी दिए। उनका अनुसार डाँडाखेत–राहुघाट १३२ केभी प्रसारण लाइन आयोजनाले रु. १ लाख ९४ हजार ८८१ र राहुघाट जलविद्युत् आयोजनाले रु. ५ लाख १७ हजार ९१३ बुझाएका छन्।
सङ्कलित राजस्वमध्ये रु. २ करोड ३३ लाख ३३ हजार ३१० सङ्घीय सरकारको वन विकास कोषमा र रु. ४५ लाख ४४ हजार ७५ मूल्य अभिवृद्धि कर (भ्याट) बापत दाखिला गरिएको छ। यस्तै, रु. २ करोड ९४ लाख २१ हजार ३२० प्रदेश सरकारको कोषमा जम्मा गरिएको कार्यालयले जनाएको छ।