काठमाडौँ । नेपालले गत भदौमा ५ अर्ब ९ करोड २४ लाख रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार भारत र बङ्गलादेशतर्फ ५६ करोड ५६ लाख ६ हजार ४४३ युनिट विद्युत् निर्यात गरी उक्त आम्दानी भएको हो।
द्विपक्षीय सम्झौतामार्फत ४२ करोड १६ लाख युनिटभन्दा बढी विद्युत् ३ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीमा बिक्री भएको छ। यस्तै, विद्युत् एक्सचेन्ज बजारमार्फत १४ करोड ३९ लाख युनिटभन्दा बढी विद्युत् निर्यात गरी १ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ आम्दानी भएको प्राधिकरणले जनाएको छ।
भोटेकोशी बाढीका कारण चिलिमे र त्रिशूली जलविद्युत् केन्द्रका संरचनामा क्षति पुगेपछि हाल बङ्गलादेशतर्फको विद्युत् निर्यात भने रोकिएको छ।