काठमाडौं। धार्मिक पर्यटन प्रवद्र्धन गर्दै स्थानीयवासीको जीवनस्तर उकास्न हेटौँडा उपमहानगरपालिका –९ मा रु २९ लाख लागतमा गुम्बा निर्माण सुरु भएको छ। हेटौँडा उपमहानगरपालिकाले धार्मिक क्षेत्रलाई पर्यटनसँग जोड्ने भन्दै उक्त गुम्बाको निर्माण कार्य सुरु गरेको हो।
हेटौँडाका धेरैजसो वडामा स्थानीय समुदायको अगुवाइमा गुम्बा निर्माणको काम भइरहेका छन्। उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले गुम्बाको शिलान्यास गरेका छन्। कार्यक्रममा बोल्दै नगरप्रमुख महतले हरेक समुदायको आफ्नो धर्म, संस्कृति रहेकाले यसको जगेर्ना गर्नुपर्ने र उक्त संरचनालाई पर्यटनसँग जोडेर समृद्धि ल्याउनमा जोड दिए।
यस बाहेक अन्य विभिन्न भवन निर्माणका कामसँगै गुम्बा निर्माणमा पनि आफूहरूले प्राथमिकता दिएको उनले बताए। दुईतले सुविधायुक्त गुम्बा निर्माण हुने भएपछि स्थानीयवासी खुशी भएका छन्। गुम्बा घुम्न आउने आन्तरिक पर्यटकका कारण स्थानीय साना तथा खुद्रा व्यवसायी लाभान्वित हुने बताइएको छ।