काठमाडौं। सिन्धुपाल्चोक जिल्लाका दुर्गम इलाका ग्रामीण भेगका प्रहरी चौकीको भवन आर्थिक अभावमा बन्न नसक्दा निर्माणाधीन अवस्थामै सञ्चालन गरीएका छन्। सरकारी बजेटबाहेकका स्थानीय श्रमदान र चन्दा संकलन गरेर ठड्याइने क्रममा रहेका प्रहरी बिट र चौकी आर्थिक सङ्कटकै कारण अलपत्र परेका हुन्।
२०७२ सालको भूकम्प र पराकम्पनले जिल्लाभर तीन नगर र नौ गाउँपालिकाभर २३ वटा प्रहरी चौकी ध्वस्त भएका थिए। भूकम्प र पराकम्पले भत्काएका २० प्रहरी चौकी ठडिसकेका छन् , भने जग्गा अभावका कारणले तीन वटा निर्माण हुन सकेका छैनन्।
स्थानीयकै पहलमा ठडिँदै लागेको बलेफी गाउँपालिका–७ स्थित प्रहरी चौकी लामोसाँघुको भवन आर्थिक सङ्कटकै कारणले अझै अधुरो अवस्थामा देखिन्छ। यहाँ चिसोले कठ्याङ्ग्रिदै सुरक्षाकर्मी निमार्णाधीन भवनमै जस्तापाता बेरबार पारेर सुरक्षामा तैनाथ भेटिन्छन्।
बलेफी गापावडा नम्बर ६, ७ र ८, त्रिपुरासुन्दरी गापा–६, सुनकोशी गापा वडा नम्बर ६ र ७ मा गरी ४० हजार नागरिकको सुरक्षा अभिभारा लिएको प्रहरी चौकी अपूर्ण हुँदा सुरक्षाकर्मी समस्यामा परेका छन्। नौ जना प्रहरीले यही अलपत्र भवनमा रातदिन बिताउनुपर्दा निकै कष्ट भोग्नुपरेको छ। लामोसाँघुका स्थानीयले २०५८ सालदेखि ०६२ सालसम्म माओवादी द्वन्द्वका कारण विस्थापित प्रहरी चौकीलाई २०६३ सालमा सोही स्थानमा पुनःस्थापना गरिएको बताए।