अर्घाखाँची। विगत ३५ वर्षसम्म जङ्गलमा त्रिपालको सहारामा बसेका बादी समुदायले नयाँ घर पाएका छन्। सन्धिखर्क नगरपालिका–२ चुत्राबेसीका बादी समुदायलाई सरकारले नयाँ घर बनाइदिएको हो।
घर पाएपछि बादी समुदाय अहिले खुसी भएका छन्। चुत्राबेशीमा बस्दै आएका बादी समुदायका ११ घर परिवार र सोही ठाउँमै सँगै बस्दै आएका दुई दलित समुदाय गरी १३ घरपरिवारलाई लुम्बिनी प्रदेश सरकार र नगरपालिकाले आवासको लागि घर निर्माण गरिदिएको हो।
“बर्खाको समय राति सुतिरहेको बेला पानी चुहिएर शरीर लुथ्रुक्कै भिजेको हुन्थ्यो, कति रात त पानी परेर ननिदाइकनै उज्यालो हुन्थ्यो”, सन्धिखर्क–२ भद्रीखोलाकी लक्ष्मी वादीले भनिन्, “कपडा भिजेर अर्को कपडा फेरि रातभर जागराम बस्थ्यौँ अब त ढुक्क भएर रातभर सुत्न पाइने भयो, औधि खुसी लागेको छ।”
प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत ११ लाखमा जग्गा खरिद र जनता आवास कार्यक्रमअनुसार ४३ लाख ६८ हजार खर्चेर १३ घर निर्माण गरिएको प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले जानकारी दिए ।