काठमाडौं। नारायणहिटी दरबार संग्रहालयमा निर्माण गर्न लागिएको रेष्टुरेन्टका बारेमा छानबिन गर्न समिति गठन गर्ने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले संग्रहालयभित्र निर्माण हुँदै गरेको रेष्टुरेन्ट ठेक्का प्रक्रियाको वास्तविकता अध्ययन गर्न समिति बनाउने तयारी गरेको हो।
छानबिन समिति बनाउनका लागि गृहकार्य भइरहेको बताइएको छ। हप्ता दिनको समय दिएर सुझावसहितको प्रतिवेदन पेश गर्नका लागि समितिलाई जिम्मेवारी दिने तयारी रहेको बताइएको छ।
दरबार संग्रहालयभित्र रेस्टुरेन्ट सञ्चालनका लागि २०७७ साल पुस १७ गते नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले पोखराको बतास समूहअन्तर्गतको बी म्यानेजमेन्टसँग तीन वर्षका लागि ठेक्का सम्झौता गरेका थिए।
संग्रहालयभित्र रेष्टुरेन्ट बनाउन लागिएको र त्यसको ठेक्का प्रक्रियामा बतास समूहलाई उच्चतम लाभ हुने गरी प्रक्रिया मिलाएको आरोप छ। यस बारेमा समाचार र जताजतैबाट विरोध आएपछि तत्कालका लागि निर्माण कार्य रोकिएको छ।