काठमाडौं। नेपाल विद्युत प्राधिकरण जाजरकोट वितरण केन्द्रले जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा विद्युत सेवा पुर्याएको छ। प्राधिकरणले गाउँपालिकाको वडा नम्बर २ मा २५ केभीए क्षमताको ट्रान्सफर्मर जडान गरी विद्युतीकरण गरेको हो।
गत सोमबार नयाँ ट्रान्सफर्मर जडान गरी सेवा सुचारू गरेको वितरण केन्द्रले जनाएको छ। उक्त गाउँमा बिजुली पुग्दा ६० भन्दा बढी घरधुरी लाभान्वित भएका छन्।
गाउँपालिकाको वडा नम्बर २ देखि करिब १० किलोमिटर एचटी लाइन विस्तार गरी गाउँमा सेवा पुर्याईएको छ। वडा नम्बर २ मा गत बैशाखमा नै विद्युत सेवा पुगेको थियो। ट्रान्सफर्मर चार्ज भएपछि स्थानीय हर्षित भएको केन्द्रले जनाएको छ।
सोलार र टुकी बत्तीको सहारामा रहेको गाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पुग्दा मिल चलाउन, टिभि हेर्न, मोबाईल चार्ज गर्न, फार्म सञ्चालन गर्न सहज हुने स्थानीयले बताए।
पालिका अन्तर्गत ९ वटा वडा छन्। अहिलेसम्म १ र २ मा मात्र राष्ट्रिय प्रसारण प्रणालीको सेवा पुगेको छ। बाँकी वडामा पनि छिट्टै सेवा सुरु गर्ने तयारी भइरहेको केन्द्रले जनाएको छ।