काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौता गरिएको छ। मालिका गाउँपालिका–७ डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ अम्बाङ जोड्ने प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन बनाउने ठेक्का भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी) ले पाएको हो।
२६ मिलियन अमेरिकी डलरमा एलएनटीसँग ३१ डिसेम्बर २०२१ मा ठेक्का सम्झौता भएको छ। सम्झौतालगत्तै ठेकेदारले डिजाइन र सर्वेक्षणको काम सुरु गरेको छ। ठेक्का सम्झौताको अवधि ३० महिना रहेको छ।
पच्चीस किलोमिटर दूरीको १२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनका ९० टावर निर्माण हुनेछन्। डाँडाखेत सबस्टेशनमा १३३।३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गरिने भएको छ। २२०।१३२।३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने राहुघाट सबस्टेशन जीआइएस प्रविधिको हुने आयोजना प्रमुखले बताए।
एशियाली विकास बैंकको ऋणमा प्रसारण लाइन र सबस्टेशन निर्माण गर्न लागिएको हो। नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतमा सबस्टेशन र राहुघाट जोड्ने प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौताको तयारी गरेसँगै जलविद्युत् आयोजना निर्माण अघि बढेका हुन।