काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन्।
तनहुँको व्यास नगरपालिका–१ स्थित निर्मल रानाभाट सिर्जनशील समाजले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।
उनले विकास निर्माणको अनावश्यक जस लिने होडमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति बढ्दै गएकाले त्यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन्।
मन्त्री श्रेष्ठले विकास निर्माणमा सहकार्य गर्नुपर्ने उल्लेख गर्दै विकासमा सबैले सहकार्य गर्ने वातावरण सिर्जना गर्नुपर्ने धारणा राखे। उनले कोरोनाका कारण धेरै विकास निर्माणका काम अवरुद्ध भएको समेत बताए।
मन्त्री श्रेष्ठले भने, ‘सबैलाई विकास चाहिएको छ, त्यसतर्फ सबै राजनीतिक दलबीच सहकार्य गरौँ। म जे बोल्छु त्यो पूरा गरेरै छाड्छु।’