ललितपुर। शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ललितपुरको गोदावरी खोला अतिक्रमण हटाएर छोड्ने प्रतिबद्धता जनाएकी छन्।
ललितपुरको गोदावरीमा आयोजित गोदावरी खोला सरसफाई १५०औं हप्ता पुगेका अवसरमा आयोजित विशेष कार्यक्रममा मन्त्री झाँक्रीले खोला किनारमा विभिन्न संघसंस्था र धर्मका नाममा भएका अतिक्रमण हटाएरै छोड्ने उद्घोष गरेकी हुन्।
गोदावरी खोला सरसफाई अभियानले अब टोल टोलमा सरसफाई अभियान पनि शुरु गर्ने भएको छ।अभियानकी अभियन्ता बेबी राजभण्डरीले अब टोल टोल सरसफाई कार्यक्रम सुरु गर्ने घोषणा गरेकी हुन्।
बागमती सरसफाई अभियानका अभियन्ता पूर्वराजदूत तथा पूर्वमुख्यसचिव लिलामणी पोखरेलले गोदावरी नगरलगायतको सहयोग पाएर गोदावरी खोला सरसफाई कार्यक्रम सफल भएको बताए।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले नगरपालिका सरसफाई अभियानलाई सधै सहयोग गरेको र आउँदा दिनमा सहयोग गर्न तयार रहेको बताए।
नगरकी उपमेयर मुना अधिकारीले खोला किनारमा नगरभन्दा बाहिरबाट आएर बंगुर, कुखुरा र हाँसलगायत पालेर फोहोर गरिरहेको बताउदै नगरपालिकाले सूचना निकालेर हटाउन पहल शुरु गरेको जानकारी दिइन्।