जुम्ला। जिल्लामा सडक अतिक्रमण गरी निर्माण भएका संरचना हटाउन सडक डिभिजन कार्यालयले १५ दिने हल्टिमेटम दिएको छ। कर्णाली राजमार्गको जुम्ला खण्डमा सडक अतिक्रमण गरी निर्माण भएका दुई पक्की घर र चार सेफ्टी ट्याङ्कीलाई आफ्नै तरिकाले हटाउन १५ दिने अल्टिमेटम दिइएको हो।
पक्की घर मालिक र सेफ्टी मालिकलाई संरचना हटाउन सडक डिभिजनले पत्र समेत लेखिसकेको छ। त्यसैगरी जस्तावाला घर हटाउन ७ दिनको समय दिइने र सो अवधिमा नहटाए डोजर प्रयोग गरी हटाइने भएको बताइएको छ। तारजाली पर्खाल, ढुङ्गाको पर्खाल र टहरालाई शुक्रबार डोजर प्रयोग गरेर हटाइने भएको छ।
जिरो प्वाइन्टदेखि बसपार्क क्षेत्रमा मात्रै सडक अतिक्रमण गरेर करिब दुई दर्जन संरचना निर्माण गरिएको छ । सडक डिभिजन कार्यालयले चिन्ह लगाएर छोडेको जग्गा समेत अतिक्रमण गरी स्थानीयवासीले घर टहरा, पर्खाल, सेफ्टी ट्याङ्कीलगायतका संरचना निर्माण गरेको भेटिएको हो।
नापी र सडक डिभिजन कार्यालयले सडकको क्षेत्र नाप्दा घर टहरा, पर्खाल, सेफ्टी ट्याङ्की गरी २४ वटा संरचनाले सडक मिचेर निर्माण गरेको भेटिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। अतिक्रमण हटाउने अभियान अन्तर्गत गरिएको नापी नक्साबाट दुई पक्की घर, चार जस्तावाला घर, चार पक्की सेफ्टी ट्याङ्की, आठ वटा तारजाली एङ्गलसहितका पर्खाल, एक ढुङ्गाको पर्खाल र पाँच टहरा गरी कूल २४ वटा संरचना सडक अतिक्रमण गरेर निर्माण भएका छन्।