काठमाडौं। विराटनगरमा निर्माण भइरहेको होल्डिङ सेन्टर अझै अधुरै रहेको छ। मोरङ विराटनगर– १६ रानीको होल्डिङ सेन्टर निर्माण सम्पन्न नहुँदा अझै सञ्चालनमा आउन नसकेको हो।
संघीय सरकारले उपलब्ध गराएको कुल २८ करोड ९१ लाख रुपैयाँ बजेटमा नेपाली सेनाले ठेकेदार कम्पनीमार्फत निर्माण गराइरहेको होल्डिङ सेन्टर कोरोना महामारी बढेपछि शंकास्पद बिरामीलाई राख्न निर्माण गरिएको हो।
संघीय सरकारले बजेट निकासा गरिएपछि हनुमान कन्स्ट्रक्सन कम्पनीबाट होल्डिङ सेन्टर धमाधम निर्माण गराइरहेको छ। गणपति अमृत थापाका अनुसार स्थान छनोट कार्य ढिलाइ हुँदा र वर्षायामले गर्दा भदौमा सम्पन्न भइसक्नुपर्ने होल्डिङ सेन्टर समयमा निर्माण सम्पन्न हुन नसकेको हो।
विराटनगरमा निर्माण भइरहेको होल्डिङ सेन्टरमा जम्मा २२ वटा घर निर्माण भइरहेका छन्। जसमध्ये २० वटा घर मानिस बस्नका लागि प्रयोग गरिनेछ। दुईवटा घर बन्दोबस्तीका लागि प्रयोग हुनेछन्। होल्डिङ सेन्टर एक एक हजार जना बस्न सक्ने क्षमताको हुनेछ। होल्डिङ सेन्टरमा विभिन्न सुविधाहरु पनी रहने छन्।