काठमाडौं। जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले राजनीतिक दृष्टिदोषका कारण मुलुकमा विकास र समृद्धिले गति लिन नसकेको बताए।
राष्ट्रिय व्यापार संघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण मुलुकमा विकास र समृद्धिको अभियानले गति लिन नसकेको बताएका हुन्।
उनले मुलुकमा विकास र समृद्धिको कामलाई गतिका साथ अघि बढाउन राजनीतिक नेतृत्वले विज्ञको ज्ञान, सीप र अनुभवको सदूपयोग गर्नुपर्ने स्पष्ट पारे।
अध्यक्ष भट्टराईले व्यूरोक्रेसीमा मुलुकलाई समृद्ध बनाउने जनशक्ति भएको उल्लेख गर्दै त्यसलाई परिचालन गरेर अघि बढन पनि राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताए। उनले अर्थतन्त्रको विकासका लागि व्यवसायीहरुले पनि मुलुकलाई समृद्ध बनाउने अभियानमा जोड दिनुपर्ने बताए।
अध्यक्ष भट्टराईले मुलुकबाट गरिबी निवारण नभई व्यापार व्यवसाय फष्टाउन नसक्नेतर्फ पनि उद्योगी, व्यवसायीहरुले ध्यान दिनुपर्ने बताए।