काठमाडौं। भरतपुरमा शिक्षक अस्पताल निर्माण गर्नका लागि महानगरपालिकाले प्रस्ताव गरेको छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण गर्न लागेको शिक्षक अस्पताल भरतपुरको भगवानपुरमा निर्माण गर्न महानगरले प्रस्ताव गरेको हो।
भरतपुर महानगरपालिका वडा नम्बर १५ भगवानपुरमा अस्पताल निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन तयार भएको छ। मन्त्रालयले पूर्वसम्भाव्यता अध्ययन र जग्गाको पहिचान गर्न समिति बनाएर काम अघि बढाएको छ। यसै समयमा भरतपुर महानगरकी प्रमुख रेनु दाहालले भगवानपुरमा ८ बिघा १६ कठ्ठा जग्गा उपलब्ध गराउन आवश्यक निर्णय गरी कागजपत्र मन्त्रालयमा पेस गरेको बताएकी छन्। महानगरपालिकामा शिक्षक अस्पताल बनेपछि यो अस्पतालले यहाँको समग्र विकासमा समेत सहयोग पुग्ने प्रमुख दाहालले बताइन्। महानगरले प्रस्ताव गरेको क्षेत्र पूर्वप्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र हो। पुष्पकमल दाहालले समेत शिक्षक अस्पताल निर्माण गर्ने विषयमा सकारात्मक भएर लागेको प्रमुख दाहाको भनाइ छ।
भरतपुरमा क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज, संघीय सरकारी अस्पतालको सुविधा भएकाले काठमाडौं बाहिर आउँदै गर्दा भरतपुरजस्तो उपयुक्त ठाउँ अन्यत्र नहुने महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले बताइन्।