म्याग्दी। मङ्गला गाउँपालिका–५ हाँडेभिरमा पालिकास्तरीय अस्पतालको भवन निर्माण गर्न शुरु गरिएको छ। मङ्गलाको केन्द्र बाबियाचौरसँगै रहेको हाँडेभिरमा १० शय्या क्षमताको अस्पताल भवन निर्माण हुन लागेको हो।
आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन बनाउन लागेको बताइएको छ। भवन निर्माण कार्य आगामी २०८० असारसम्म सम्पन्न गर्ने लक्ष्य छ।
भवन निर्माणका लागि ओमबुद्ध इन्टरनेशनल कन्सट्रक्शन काठमाडौँसँग २०७८ असारमा रु नौ करोड ११ लाखमा ठेक्का सम्झौता गरिएको थियो। भवनको कूल रु १२ करोड ९७ लाखको लागत अनुमान गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाका अनुसार दुई भवनमा ३५ कोठा निर्माण गरिनेछन् । विसं २०७७ पुस १५ गते सो अस्पताल भवनको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले शिलान्यास गरेका थिए।