जुम्ला। जुम्लाको तिला गाउँपालिको–४ का ५ सय घरधुरीमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पुर्याइने भएको छ। नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले वितरण लाइन विस्तार गरी सापुल्ली र नुवाकोटमामा विद्युत पुर्याउने भएको हो।
गाउँमा विजुली पुर्याउनका लागि सापुल्लीदेखि नुवाकोटसम्म वितरण लाइन विस्तारको काम धमाधम भइरहेको छ। विद्युत पहुँच विस्तार भएपछि सापुल्ली गाउँका करिब ३ सय र नुवाकोट गाउँका २ सय घरधुरी लाभान्वित हुनेछन्।
विद्युत मिटर वितरण गरेपछि स्थानीयबासीलाई राष्ट्रिय प्रणालीको विद्युत सेवा दिन सुरु गरिने बताइएको छ। यस्तै, जिल्लाको तातोपानी गाउँपालिकाको वडा नम्बर ७ र ८ मा विद्युतीकरण विस्तार गर्न ठेकेदार छनोटको प्रक्रियामा रहेको बताइएको छ।
ठेकेदार छनोटको चरण पूरा भएपछि २ वडाको सर्मी, सुर्की र ताम्ती गाउँमा वितरण लाइन विस्तार कार्य सुरु हुनेछ । ठेकेदार छनोटको प्रक्रिया पूरा गरी वितरण लाइन विस्तारको काम सुरु गर्न अझै २ महिना लाग्ने बताइएको छ।