मोरङ। प्रदेश १ सरकारले निर्माणाधीन होल्डिङ सेन्टरको काम चार दिनभित्र पूरा गर्न निर्देशन दिएको छ।
भारतलगायत तेस्रो देशबाट आएका नागरिकलाई राख्नका लागि विराटनगर–१६ मा निर्माण भइरहेको होल्डिङ सेन्टर चार दिनभित्र सम्पन्न गर्न निर्देशन दिइएको हो।
प्रदेश १ सरकारको टोलीले निर्माणाधीन होल्डिङ सेन्टर र जोगवनी नाकाको अनुगमन गर्दै चाँडै काम सक्न निर्देशन दिएको हो। मुख्यमन्त्री राजेन्द्रकुमार राई, आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की, सामाजिक विकास मन्त्री जयराम यादव सहितको टोलीले अनुगमन गरेको थियो।
अनुगमनका क्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले निर्माणाधीन होल्डिङ सेन्टरको चार दिनभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका हुन्। विराटनगरमा सीमा क्षेत्रबाट प्रवेश गर्नेलाई लक्षित गरेर एक हजार बेड क्षमताको होल्डिङ सेन्टर निर्माणाधीन अवस्थामा रहेको छ ।
गत असार ३ गतेबाट निर्माण सुरु भएको होल्डिङ सेन्टरको एक महिना भित्र निर्माण सम्पन्न गर्ने नेपाली सेनाले लक्ष्य लिएको छ ।
तर संक्रमणदर बढेकाले कम्तिमा एक सय बेड चार दिन भित्रमा तयारी अवस्थामा राख्नु पर्ने प्रदेश सरकारको निर्देशन छ ।
होल्डिङ सेन्टर निर्माणको कुल लागत २८ करोड ९१ लाख ३३ रहेको छ।