काठमाडौं। विवादको कारण स्मार्ट बसपार्क निर्माणमा देखिएको समस्या हटेर काम सुरु भएपछि धरान उपमहानगरपालिका–८ सुन्दरबस्ती आयोजना स्थलका जग्गाधनी उत्साहित भएका छन्। बसपार्क निर्माणका लागि निःशुल्क जग्गा दिएको दुई दशकपछि कामले गति लिएपछि स्थानीयवासी उत्साहित भएका हुन्।
उक्त स्मार्ट बसपार्क निर्माणका लागि सुनसरीकै बिकोइ गिताञ्जली जेभीले ठेक्का पाएको छ। कम्पनीले भ्याटबाहेक २० करोड १८ लाख ४६ हजार १३१ रुपैयाँमा ठेक्का पाएको थियो ।
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनिसकेपछि बसपार्क निर्माणले गति लिएको हो। डीपीआर अनुसार स्मार्ट बसपार्क बेसमेन्ट (अन्डरग्राउन्ड पार्किङ) सहित तीन तलाको हुनेछ। डिजाइनअनुसार बेसमेन्ट २०० साना गाडी र १५० ओटा मोटरसाइकल अट्ने क्षमताको हुनेछ।
उपमहानगरका अनुसार सतहबाट गन्तव्यमा छुट्ने गाडी मात्र राखिनेछ। त्यहाँ १२ ओटा विभिन्न रूटमा जाने गाडीको पार्किङ संरचना निर्माण हुनेछ।
बसपार्कको निर्माणमा संघीय सरकारको ५० प्रतिशत लगानी रहनेछ भने लागतको ५० प्रतिशत धरान उपमहानगरपालिकाले बेहोर्ने भएको छ। त्यसैगरी ड्रेन निर्माणका लागि सम्पूर्ण बजेट उपमहानगरकै रहेको छ।